जनताको भावना र विश्वास जितेर काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं, चैत ५ । तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम थालेको जनाए । उनले कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए । आफ्नो कार्य क्षेत्रमा नगई निजामती कर्मचारीहरुले लिँदै आएको सुविधा मन्त्री पण्डितले हटाउने भएका हुन् ।

उनले जनताको सेवामा समर्पित भएर कर्मचारीहरुले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् । उनले मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्री पण्डितले निजामती कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए । मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई रोक्ने घोषणा गरे ।

उनले कर्मचारी संगठनहरुको दवावमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता व्यक्त गरे । नीति निर्माणका बेला कर्मचारी संगठनहरुबाट आवश्यक सुझाव लिने काम सरकारले गर्ने योजना बनाएको मन्त्री पण्डितले जनाए ।

उनले सरुवा, बढुवा गर्ने काम दवावमा नहुने दाबी गरे । निजामती कर्मचारीलाई लामो विदामा बस्ने छुट नरहेको मन्त्री पण्डितको भनाइ छ ।