युवा लक्षित स्वरोजगारमूलक अभियान संचालन

रोल्पा, चैत ६ । युवालाई गाउँघरमै स्वरोजगारी दिलाउने उद्देश्यले जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम अगाडि बढाएको छ ।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश पलायन हुनबाट रोक्नका लागि यस्तो कार्यक्रम ल्याएको बताएको छ । युवाका लागि गाउँपालिकाले आरन प्रवद्र्धन, ड्राईभिङ, अल्लो भांगो प्रवद्र्धन, मुडा र नमकिन बनाउनेलगायतका तालीम सञ्चालन गरिरहेको छ ।

तालीम पश्चात नियमित अनुगमनसमेत गर्दै तालीमलाई जीवन उपयोगी बनाउने सोचका साथ अगाडि बढेको उक्त गाउँपालिकाले बताएको हो । गाउँपालिकाको दलित बाहुल्य सिउरी गाउँका १० दलित युवाका लागि परम्परागत पेशा प्रवद्र्धनमा युवाको आकर्षणसमेत वृद्धि गर्न एक महिने आरन प्रवद्र्धन प्रशिक्षक प्रशिक्षणको आयोजना गरेको छ । परम्परागत रुपमा सञ्चालन हुँदै आएको उक्त पेशालाई आधुनिकीकरण गर्न सो तालीमको आयोजना गरेको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए ।

परम्परागत पेशालाई स्तरोन्नति गर्दै साना उद्योगको रुपमा विकास गरी अन्य युवालाई समेत रोजगारी सिर्जना गर्ने गरी काम अगाडि बढाइएको उनले बताएका छन् । जिल्लामा भित्री सडक विस्तारसँगै गाडी चालकको समेत माग भएको हुँदा सो गाउँपालिका महिला र पुरुष गरी २५ युवालाई सवारी चालक तालीम दिने तयारीमा रहेको छ ।

तालीमबाट दक्षता हासिल गरेसँगै सबै युवाले सहजै पेशामा आबद्ध हुन सक्ने अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले महिलाका लागिसमेत नमकिन बनाउने, मुडा बनाउने र अल्लो भांगो प्रवद्र्धन तालीम सञ्चालन गरेको छ ।

महिलाहरु घरको चुलोचौकामा मात्रै सीमित हुनुपर्छ भन्ने मानसिकतालाई पन्छाउनका लागि महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्तो खालको तालीम सञ्चालन गरिएको हो । युवाका लागि गाउँमै रोजगारी सिर्जना नगरे विदेश पलायन भइरहेको युवा जनशक्ति रोक्न नसकिने भएकाले अल्पकालीन योजनाका रुपमा युवामा सीप र क्षमता विकास गरी स्वरोजगार बनाउने र दीर्घकालीन रुपमा कृषिलाई व्यवसायीकरण तथा स्थानीय अल्लो भांगोको उद्योगसमेत स्थापना गर्ने सोच बनाएका छौँ अध्यक्ष पुनले भने ।

स्थानीय सरकारको लगानी र प्रत्यक्ष निगरानीमा युवा लक्षित कार्यक्रम भइरहेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत बालकृष्ण आचार्यले बताए । गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउने गरी काम थालनी गरेको हुँदा आगामी दिनमा युवा जनशक्ति विदेश पलायन हुनबाट रोकिने उनले आशा व्यक्त गरे ।

हाल रोल्पाका ४० हजार बढी युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडीको विभिन्न मुलुकमा मजदूरी गरिरहेका छन् ।