पोखरा, चैत ६ । पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले बताएका छन् ।
आज नेपाल खेलकूद पत्रकार मञ्च कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए । खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उनले बताए ।
पर्याप्त वातावरणको अभावमा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै विश्वकर्माले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने जनाए । सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद (साग)लाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उनले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको बताए ।
आगामी बजेटले खेललाई प्राथमिकता दिने बताउँदै मन्त्री विश्वकर्माले युवा सशक्तीकरणका कार्यक्रमलाई पनि अगाडि बढाउने जानकारी गराए ।