संविधानमा मधेशी जनतालाई सम्बोधन गर्नुपर्ने

लहान, चैत ६ । संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा भएको नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बताएका छन् ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईले मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्ने सुझाव दिए ।

यसअघि मंगलबार बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गरेका थिए ।