पोखरा, चैत ७ । समृद्धि र विकास अबको आवश्यकता भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् ।
आज नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व रहेको बताए । रिबन काट्ने र भाषणबाट नभै जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भनी सोच्नुपर्ने बेला आएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
संघीय संसद्ले छिटोभन्दा छिटो कानून बनाएर प्रदेश सरकारलाई बुझाउन सक्यो भने विकास र समृद्धिका कार्य छिटो अगाडि बढ्न सक्ने उनको धारणा छ । पाँच वर्षको अवधिमा नेपाली जनताले समृद्धिको महसुस गर्ने अवस्था सिर्जना गर्नु अपरिहार्य रहेको उनले बताए ।
देशको अर्थतन्त्र घाटामा रहेको भन्दै उनले करको दायरा बढाएर विकासका योजना अगाडि बढाउनुपर्नेमा जोड दिए । भ्रष्टाचार न्यूनीकरण गर्दै आम नागरिकलाई सुशासन दिन सक्नुपर्ने उनको भनाइ छ । देशमा विधिको शासन हुनुपर्नेमा जोड दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाउँदै न्याय एवं सुशासनपूर्ण वातावरणको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बोल्नेभन्दा काम गरेर देखाउने समय आएको बताउँदै अब जनताले कामप्रति चासो दिन थालेको बताए ।