केकीलाई लाग्यो झड्का, हिट नायिका बन्ने सपना अधुरै

अभिनेत्री केकी अधिकारीलाई ‘स्वर’ चलचित्रबाट डेब्यु गर्दा सम्भावना बोकेकी नायिकाको रुपमा लिइएको थियो । जस्तोसुकै भूमिका पनि निभाउन सफल उनी केही वर्ष राम्रै चलिन् ।

उनका केही चलचित्र मात्र जेनतेन फिट पनि भए । कहिले चुलबुले त कहिले साधारण गाउँले भूमिकामा उभिएर उनले दर्शकलाई आकर्षित गर्न कुनै कसर छोडिनन् । दर्शकले पनि उनलाई नरुचाएका भने होइनन् । तर, चलचित्र क्षेत्रले उनीमाथि जति अपेक्षा राखेको थियो त्यसमा भने केकी केही मात्रामा चुकेकी छिन् । उनले चलचित्र भने पाइनै रहेकी छिन् सायद उनी यसैमा खुसी छिन् । सोलो नायिकाको रुपमा एक हिट चलचित्रको व्यग्र प्रतिक्षामा रहेकी केकीका यस वर्ष चार चलचित्र रिलिज भए ।

‘ऐश्वर्य’, ‘घामपानी’, ‘राज्जा रानी’ र ‘हुर्रे’ चलचित्रमध्ये ‘ऐश्वर्य’ ले मात्र लगानी बचन गर्न सफल भयो । ‘घामपानी’ को विजनेश सामान्य रह्यो । ‘ऐश्वर्य’ मा निभाएको चुलबुले भुमिकाले दर्शकको मन जित्यो । तर, यस चलचित्रमा नव–अभिनेत्री दीपिका प्रसाईँ हाबी हुनाले उनी छायाँमा परिन् । ‘राज्जा रानी’ मा श्रीमान नाजिर हुसेनबाट शोषण सहन बाध्य यूवतीको भूमिका निर्वाहा गरेकी केकीले ‘हुर्रे’ मा मेनका बनेर केटा फसाइन् । तर अपसोस, दुबै चलचित्र बक्सअफिसमा नउत्रिने गरी डुबुल्की मारे ।

‘राज्जा रानी’ बाट सामान्य तारिफ पाए पनि वर्ष २०७४ मा हिट नायिका बन्ने सपना केकीको फेरि अधुरै रह्यो । अब उनको आश र भरोसा आफूले नै निर्माण र अभिनय गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ माथि छ, जुन बैशाख १४ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । उनको यो पहिलो पटक निर्माणमा हात हालेको चलचित्र हो ।

विशाल भण्डारी सो चलचित्रका निर्देशक हुन् । अन्य ब्यानर रोज्दा ‘अनलक्की’ साबित भएकी केकीलाई अब आफ्नै ब्यानरमा निर्मित चलचित्रले कतिको राहत दिने हो । आशा गरौँ ‘कोहलपुर एक्सप्रेस’ चलचित्र उनको लागि सफलताको साँचो बनोस् ।