शेयर बजारमा हालसम्मकै न्यून गिरावट

काठमाडौँ, चैत ८ । लगातार घट्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले घटेर एक हजार २२०.४४ बिन्दुमा पुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.९९ बिन्दुले घटेर २६०.४१ बिन्दुमा पुगेको छ ।

आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेयर रु ४३ करोड ८२ लाख ५६ हजार १३४ मूल्यमा कारोबार भएको छ । स्टकका अनुसार नौवटै सूचक समेत ओरालो लाग्दा बजार प्रभावित बनेको हो । आज बैंकिङ ३.९६, होटल ५९.४५, विकास बैंक १०.७९, जलविद्युत् २५.२४, फाइनान्स ०.८, बीमा १२०.७, उत्पादन ३३.०६, अन्य ५.२७ र माइक्रोफाइनान्स समूह १९.२५ बिन्दुले घटेको छ ।

बुधबार पनि शेयर घटेर बजार २४.४० अंक पुगेको थियो । नेपाल स्टक एक्सचेन्जमा आरम्भ माइक्रो फाइनान्सको प्राथमिक शेयर सूचीकृत भएको छ ।

उक्त फाइनान्सको ६ लाख कित्ता शेयर सूचीकृत भएको स्टकले जानकारी गराएको छ ।