चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुँदै

काठमाडौ चैत ८ । काठमाडौंमा यही चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुँदैछ ।

आज काठमाडौंमा राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा दोस्रो सहकारी महासम्मेलनको आयोजना गर्न लागिएको बताइएको छ । दिगो विकास लक्ष्य प्राप्ती गर्ने उद्देश्यले महासम्मेलन आयोजना गर्न लागिएको महासंघका संचालक चन्द्रप्रसाद ढकालले बताए ।

महासम्मेलनले नेपालको सहकारी अभियानको हालसम्मको उपलब्धिको समिक्षा गर्दै समृद्ध नेपाल निर्माण गर्ने भावी कार्यदिशा निर्दिष्ट गर्ने लक्ष्य राखेको छ ।

महासम्मेलनमा सहकारीद्धारा उत्पादित बस्तुहरुको प्रद्रशनी हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने महासम्मेलनमा भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायतका सहकारी अभियन्ताहरुको पनि सहभागिता रहनेछ ।

नेपालमा हाल ६३ लाख नागरिक सहकारी क्षेत्रमा आवद्ध रहेको दावी गरिएको छ । देशभर ३४ हजार ५ सय १२ वटा सहकारी संघ, संस्थाहरु रहेको महासंघले बताएको छ ।