काठमाडौँ, चैत ९ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक डाकेको छ ।
आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।
निर्वाचनमा पार्टीले बेहोर्नुुपरेको हारबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाँचौँ केन्द्रीय कार्य समिति बैठक हो ।
यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले बताए । एक दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उनले बताएका छन् ।
निर्वाचनपछि काँग्रेसमा नेतृत्वको आलोचनाका साथ महासमिति भेलाको माग समेत उठ्दै आएको छ ।