स्थानीय निकायसँगको सहकार्यमा वृद्धि गर्दै साझा

ललितपुर, चैत ९ । काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ ।

साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले आगामी दिनमा अरु स्थानीय निकायसँगको सहकार्य बढाउँदै जाने योजना रहेको जनाए । काठमाडौँ महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड शेयर खरिद गरिसकेका छन् ।

काठमाडौँ उपत्यका र उपत्यका बाहिरका धेरै नगरपालिकासँग पनि सहकार्य गर्न चाहेको उनले बताए । हामीले अहिले दुईवटासँग सहकार्य गरिसकेका छौंँ र आगामी दिनमा अरुसँग बढाउँदै जाने लक्ष्य रहेको उनको भनाइ छ । साझामा सरकारका विभिन्न निकाय, संघसंस्था र सर्वसाधारण नागरिकको लगानीमा सञ्चालित छ ।

सबैभन्दा बढी शेयर सरकारी क्षेत्रको रहेको छ । ९० प्रतिशत शेयर स्थानीय निकायलगायत सरकारी कार्यालयको छ । निजी क्षेत्रको तुलनामा सरकारी क्षेत्रको लगानीमा अझै वृद्धि हुनसक्ने उनको भनाइ छ ।

साझा यातायातका उपत्यकाभित्र र बाहिर गरेर जम्मा ४७ वटा बस सञ्चालनमा रहेका छन् ।