विदेशमा बस्ने नेपालीहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न यस्तो गरे

एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी

चितवन, चैत १२ । पछिल्लो समय युवाहरुको जमात वैदेशिक रोजगारीका शिलशीलामा विदेशिने क्रम बढ्न थालेपछि त्यसलाई केही हदसम्म नियन्त्रण गर्ने उद्देश्यका साथ विदेशमा बस्ने नेपालीहरुले नयाँ परियोजना शुरु गरेका छन् ।

स्वदेशमा रोजगारी सिर्जना गर्न स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु एक करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ (उत्कृष्ट एक भण्डार) सञ्चालन गरेको हो ।

युवालाई स्वदेशमै रोजगार गराउने लक्ष्यसहित हरेक मानिसलाई चाहिने कपडाहरू एकैठाउँमा उपलब्ध गराउन चितवनको नारायणगढस्थित ‘मिलन मार्केटमा’ सम्पूर्ण कपडाको भण्डारको रुपमा ‘ग्रेट वान पेवेलियन’ सञ्चालन गरिएको कम्पनीका प्रबन्धक ईश्वरराज अधिकारीले बताए ।

विदेशमा बस्ने र वैदेशिक रोजगार छाडेर आएकालाई सहभागी गराई कम्पनीले दोस्रो परियोजना एक कपडाको भण्डारका रुपमा ग्रेट वान पेभेलियन सञ्चालनमा ल्याएके हो । यसअघि कम्पनीले पहिलो परियोजना स्वदेशी उत्पादन ‘पल्पी’ जुसमा लगानी गरिसकेको छ ।

कम्पनीले अस्पताल, रिसोर्टलगायत विभिन्न अन्य परियोजनासमेत चलाउने लक्ष्य राखेको छ । ‘प्रवासीको आम्दानी, स्वदेशमा लगानी, प्रवासीको साथ परिवारको हात’ भन्ने मूल नाराका साथ स्थापित युथ भिजनले नेपालमै रोजगारी सिर्जना गर्न र विदेशिएकालाई स्वदेशमा फर्काउन यस्तो परियोजना शुरु गरेको हो ।

एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी,’ भन्ने नारासहित पेभेलियन सञ्चालन गरिएको कम्पनीका अध्यक्ष प्रकाश अर्यालले बताए । पेभेलियनमा महिला, पुरुष र बच्चाका लागि चाहिने सम्पूर्ण कपडा एकै ठाउँमा उपलब्ध हुनेछन् ।

यस्तै शटिङ–सुटिङका कपडा तथा साडी, कुर्तासुरुवाल समेत यहाँ पाइन्छन् । कम्पनीले प्रवासमा रहेकालाई पहिलो प्राथमिकता दिई अन्य संघसंस्था तथा प्रतिनिधिलाई समेत समेटेर परियोजना संचालन गरेको हो ।

१५० जनाको सामूहिक लगानी भएको सो कपडाको भण्डारमा लगानीकर्ताको परिवारलाई विशेष प्राथमिकता र सुविधा दिइने बताइएको छ ।