अवैध सामग्री बरामद

इलाम, चैत १२ । पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले भन्सार छलेर अवैधरूपमा नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान आइतबार बरामद गरेको छ ।

दुईवटा पिकअपमा सीमापारी भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको चाउचाउ, चिसो पेय पदार्थ, मदिराजन्य पदार्थलगायतका करिब साढे नौ लाख मूल्य बराबरको सामग्री तीनघरे प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले बरामद गरेको हो ।

प्रहरीले मे. १ ज. १६३१ र मे. १ ज. २९२८ नम्बरको पिकअप, भन्सार छलेर ल्याएको लाखौँ मूल्यको सामग्रीसहित पिकअपका चालकद्वय सूर्योदय नगरपालिका–२ का हुकुम तामाङ र सोही स्थानका पुरन स्याम्बोलाई पक्राउ गरेको छ ।

नियन्त्रणमा लिएको पिकअप र बरामद गरिएको सामान इलाका प्रहरी कार्यालय पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको नायव सुब्बा चेतनाथ खनालले बताए ।

पिकअप चालकलाई भने प्रहरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले बताएको छ ।

तस्करले पशुपतिनगरका सीमा नाकाबाट अवैध तरिकाले नेपालतर्फ भित्राएको उक्त सामग्रीहरू इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसम्म पुर्याउने गरेका छन् ।