नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा हैजाको प्रकोप

अबुजा, चैत १२ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रको बौची राज्यमा हैजाको प्रकोप फैलिएको छ ।

जसबाट बच्नको लागि विशेष सतर्कता अपनाइएको  छ । उक्त क्षेत्रमा केही दिनयता हैजाको प्रकोप फैलिएको हो । जसका कारण गतहप्तामात्र कम्तीमा पनि नौ जनाको मृत्यु भएको थियो ।

हैजाबाट प्रभावित अरु कैयौँ नागरिक अस्पतालमा भर्ना भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरुले शुक्रबारदेखि सो क्षेत्रमा हैजाका सयौँ बिरामी अस्पताल भर्ना भएका जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनको समेत सहयोगमा हैजाको प्रकोप फैलिएको सो बौची राज्यका पाँचओटा जिल्लामा यस्तो सतर्कता कार्यक्रम थालिएको छ । अहिलेसम्म ती जिल्लामा मात्र ४०० जनाभन्दा बढीलाई हैजाको प्रकोप भएकोले अधिकारीहरुले विशेष कार्यक्रमहरु सञ्चालन गरिएको बताएका छन् ।

खानेपानी तथा अन्य खाद्यान्नमा विशेष निगरानी गर्नुका साथै औषधिको पनि राम्रो व्यवस्था गरिएको छ भने झाडापखाला लाग्नासाथै अस्पताल लैजान परिवारका सादस्यहरुका नाममा सार्वजनिक रुपमा ‘माइकिङ’ गरिएको छ ।

सरसफाईमा कमी, स्वास्थ्य चेतनाको अभाव र खुल्ला रुपमा दिसा, पिसाब गर्ने गरिएकाले त्यस क्षेत्रमा हैजाको प्रकोप फैलिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी शुद्ध पिउने पानीको अभाव र अखाद्य तथा बासी खानेकुराहरुको उपभोगले हैजाका बिरामीहरु बढेको र यसले पुरै गाउँलाई नै प्रभावित पारेको अधिकारीहरुले जनाएका छन् ।

सिन्ह्वा