ओखलढुंगा जिल्लामा नौ मतदान केन्द्र संवेदनशील

दोश्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत ओखलढुंगा जिल्ला सुरक्षा समिति ओखलढुंगाले निर्वाचनको सुरक्षाको व्यवस्था पूर्ण रुपमा सम्मन्न भएको बताएको छ । जिल्ला सुरक्षा समितिले ओखलढुंगाका ९ वटा मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रुपमा राखेको छ ।

ओखलढुंगाका ७८ मतदान केन्द्र मध्ये एक मतदान केन्द्र अति संवेदनशील, आठ मतदान केन्द्र संवेदनशील र अन्य सामन्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी गराएका छन् । जिल्लाका हरेक मतदान केन्द्रमा प्रहरी अधिकृतको कमाण्डमा पाँच जना नेपाल प्रहरी, छ जना म्यादी प्रहरी सहित शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने र संवेदनशील मतदान केन्द्रमा सामान्य मतदान केन्द्रमा भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी प्रमुख मिलन केसीले जानकारी दिए ।

आवश्यकता परको अवस्थामा अन्य थप सुरक्षाकर्मी परिचालन गर्नका लागि तयारी अवस्थामा भएकाले सुरक्षामा कुनै समस्या नहुने समेत प्रहरी प्रमुखले बताएका छन् । केन्द्रीय सुरक्षा नीति अनुसार अति संवेदनशील र संवेदनशील मतदान केन्दहरुको नाम भने सार्वजनिक गर्न सकेको छैन ।