खोटाङ, चैत १३ । खोटाङमा एक वृद्धले बाँसको भाटाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् ।
सोमबार साँझ घरायसी विवादमा श्रीमान/श्रीमतीबीच झगडा हुँदा श्रीमानले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताएका छन् ।
श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन् उनले भने मातेको झोँकमा श्रीमान माथि जाइलाग्दा श्रीमानले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ । घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पुर्याइएको आफन्तले बताएका छन् ।