मन्त्री बस्नेत र जापानी राजदूत ओगावाबीच भेटवार्ता

काठमाडौँ, चैत १४ । नेपालका लागि जापानी राजदूत मासासी ओगावाले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज मन्त्रालयमा भएको भेटमा उनले जापान सरकारले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि असल साझेदारका रुपमा सहयोग गर्दै आएकोमा उच्च प्रशंसा गरेका छन् । आगामी दिनमा थप सहयोगको अपेक्षा गर्दै मन्त्री बस्नतेले जनस्तरमा समेत जापान नेपालको असल मित्र भएको बताए ।

उनले नेपाल लामो राजनीतिक अस्थिरताको दुस्चक्रबाट भर्खरमात्र मुक्त भएको बताउँदै सरकारको अबको ध्यान शान्ति, स्थिरता र विकास भएको प्रस्ट्याए । आफ्नो मन्त्रालयले युवाको सक्रिय सहभागितामा वन÷वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने बताउँदै मन्त्री बस्नेतले वनलाई उद्यमशीलतासँग जोड्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने नीतिका साथ सरकार अघि बढेको उल्लेख गरे ।

उक्त अवसरमा राजदूत ओगावाले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना दिँदै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान सरकार तयार रहेको प्रतिबद्धता जनाए । राजनीतिक अस्थिरता अन्त्यसँगै नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा प्रवेश गरेको भन्दै उनले वर्तमान सरकारले अघि सारेको विकास र समृद्धिको योजनामा जापान सक्दो सहयोग गर्न तयार रहेको बताए ।

राजदूत ओगावाले चुरे संरक्षण र तराई– मधेसमा वर्षायाममा हेरक वर्ष आउने बाढी/पहिरोका कारण हुने गरेको धनजनको क्षति रोक्ने कार्यमा सहयोग गर्न जापान सरकार तयार रहेको बताएका छन् । भेटमा राजदूत ओगावाले मन्त्री बस्नेतलाई जापान भ्रमणको निमन्त्रणासमेत दिएको मन्त्रालयले बताएको छ ।