नेपाल र जापानको धार्मिक संस्कृति मिल्दोजुल्दो : जोशी

काठमाडौँ, चैत १५ । नेपाल र जापानको कला र संस्कृतिको सम्बन्ध ऐतिहासिक रहेको वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले बताएका छन् ।

नेपाल कल्चर एक्सचेन्ज एशोसिएसनले आयोजना गरेको नेपाली तथा जापानीज कलाकारको सांस्कृतिक प्रस्तुति आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उनले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक संस्कार मिल्दोजुल्दो भएको चर्चा गरेका छन् ।

संस्कृतिविद् जोशीले विशेष गरी बौद्ध धर्मावलम्बीको मन्त्र जापानसँग मिल्ने गरेको भन्दै दुई देशबीचको सम्बन्धलाई अझै गहिरो बनाएर लैजानुपर्ने धारणा राखे ।

कार्यक्रममा आयोजक एशोसिएसनका महाप्रबन्धक राजेश थापाले लामो समयदेखिको नेपाल र जापानको सम्बन्धलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जापानी गायिका सुन्दरी मिकाले नेपाली तथा जापानी गीतको प्रस्तुति दिएकी थिइन् ।

त्यस्तै सोही कार्यक्रममा जापानी ओवारा नाच, कौरा नाच, चर्या नाच, नेवारी नाच, हुड्केली नाच, तामाङ सेलो, बाँसुरी वादनलगायतको प्रस्तुति आदानप्रदान गरिएको थियो ।