उपत्यकामा थोपा सिँचाइको प्रयोगमा वृद्धि

ललितपुर, चैत १५ । काठमाडौंँ उपत्यकामा थोपा सिँचाइको प्रयोगमा वृद्धि हुन थालेको छ । उपत्यकाका झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्ने गर्दछन् ।

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै वृद्धि भएको जनाएका छन् । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ ।

काठमाडौँ उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त हुने गरेको छ । अहिले किसानमा पनि दिनभर पाइपले पानी हालेर मेहनत गर्नेभन्दा पनि छिटो र सजिलो कुरा खोजेका छन् उनले भने । काठमाडौंँ उपत्यका बाहिरका तरकारीखेती हुने जिल्लामा पानी पर्याप्त भएकाले र प्रविधिको पहुँच नपुग्नाले पनि थोपा सिँचाइ फैलिन सकेको छैन ।

थोपा सिँचाइबाट बोटबिरुवालाई पानी हाल्दा उत्पादन बढ्ने भट्टको भनाइ छ । पाइपबाट पानी हाल्दा लामो समयसम्म सुख्खा बिरुवाले एकै पटक ह्वात्तै पानी पाउँछ ।

थोपा सिँचाइबाट पानी हाल्दा बिरुवाले चाहिने मात्रामा र जरामा नै पानी पुग्छ । यो विधिबाट बिरुवा सुक्न र एकै पटक बिरुवामा बाढी जसरी नै पानी ह्वात्तै जान पाउँदैन उनले भने । एक किलो गोलभेँडा फलाउनका लागि थोपा सिँचाइबाट औसत चार लिटर र पाइपबाट औसत ४० लिटर पानीको आवश्यकता पर्दछ ।

नेपालमा इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिँचाइ लगायतका प्रविधि भित्र्याएका हुन् ।