स्थानीय अंश समावेश गरी विद्यालयका पाठ्यक्रम तयार गरिने

रोल्पा, चैत १६ । रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप र कृषिजस्ता पक्षलाई समेटेर पाठ्यक्रम तयार गरी लागू गर्ने भएको छ ।

नगर क्षेत्रभित्रका विद्यालयमा स्थानीय अंश समावेश गरी पाठ्यक्रम तयार गर्न लागिएको नगर शिक्षा समितिले बताएको छ । नगरपालिकाभित्रको शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन स्थानीय विषयवस्तु समावेश गरी पाठ्यक्रम तयार गर्न लागेको नगर प्रमुख पूर्ण केसीले जनाएका छन् ।

शैक्षिक सत्र २०७५ देखि लागू हुने गरी हरेक विद्यालयले १०० पूर्णांक स्थानीय अंश समेटेर पाठ्यक्रम तयार गरी लागू गर्ने केसीको भनाइ ।

स्थानीय अंशको रुपमा समावेश गरिने विषयवस्तु समयसापेक्ष भएकाले पाठ्यक्रममार्फत कार्यान्वयन गर्नसके नगर क्षेत्रभित्रको शिक्षा व्यावहारिक हुने बालकल्याण नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए ।

नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गर्ने लक्ष्य लिएको रोल्पा नगरपालिकाले शिक्षाको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ ।

नगर क्षेत्रभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र वडाध्यक्षको भेला गरी नगर क्षेत्रको शैक्षिक प्राथमिकताका विषयमा समेत छलफल गरिसकेको छ ।