हेटौँडा, चैत १६ । प्रदेश नं ३ का मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति टुङ्गिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सम्पन्न आजको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुईवटा निर्णय गरेका बताइएको छ ।
बैठकले प्रदेशसभाको बैठकमा पेश गर्नका लागि गाउँसभा र नगरसभा सञ्चालन गर्नका लागि कार्यविधि तयार गरेको सरकारबाट प्रवक्ताको जिम्मेवारी पाएका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएका छन् ।
प्रवक्ता ढुंगेलले स्थानीय जनप्रतिनिधिको सेवा सुविधा फेरबदल हुन सक्ने जानकारी गराएका छन् । ढुंगेलका अनुसार स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिका सदस्यहरुले माग गरेको सेवा सुविधाको सम्बन्धमा पनि मन्त्रिपरिषद्मा छलफल हुने जानकारी गराइएको छ ।