नेपाल पत्रकार महासंघको स्थापना दिवस देशभर धुमधामका साथ मनाइदै

काठमाडौं चैत १६ । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रद्वारा महासंघका पुर्व सभापतिहरुलाई सम्मान गरिएको छ । महासंघको केन्द्रिय कार्यालयमा प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सम्मनित हुनेहरुमा पुर्व सभापतिहरु हरिहर बिरही, होमनाथ दाहाल, डा. सुरेश आचार्य, किशोर नेपाल, धर्मेन्द्र झा, बिष्णु निश्ठुरी, तारानाथ दाहाल, शिव गाउँले र महेन्द्र बिस्ट रहेका छन् । उनिहरुलाइ प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, महासंघका अध्यक्ष गोबिन्द आचार्य लगायतले दोसल्ला ओढाइ सम्मान गरेका हुन् ।

मुलुकमा स्वतन्त्र प्रेसको रक्षा र लोकतन्त्रको पक्षमा महत्वपूर्ण योगदान पु¥याएबापत महासंघले उनीहरुलाई सम्मान गरेको हो । सो अवसरमा सभामुख महराले निरङ्कुशविरुद्ध र लोकतन्त्रको पक्षमा पत्रकार महासंघले खेलेको भूमिका सबैका सामुन्ने जगजाहेर रहेको बताएका छन् । पत्रकारिता जगत् समाजको ऐनाको भूमिका खेल्दै आएको प्रष्ट पार्दै समाज रुपान्तरणमा सञ्चार क्षेत्रको ठूलो योगदान रहेको र मुलुकमा प्राप्त उपब्धिलाई सहि तरिकाले उपयोग गर्न र सही दिशातर्फ उन्मुख गराएर समृद्धिसँग जोड्ने कामको दायित्व पत्रकारिता क्षेत्रले लिनुपर्ने महराले प्रष्ट पारे ।

सभामुख महराले नेपाली पत्रकारिता क्षेत्रको गौरवमय इतिहास, विश्वसनीयता र मर्यादालाई बचाइराख्न महासंघले ख्याल गर्नु पर्ने आवश्यकतामाथि जोड दिएका छन् । महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा चुनौतीको पहाड नै रहे पनि अग्रजले गौरवपूर्ण ढंगबाट राखेको साझा चरित्र, गरिमालाई बचाइराख्ने प्रतिबद्धता जनाएका छन् । पूर्वसभापति हरिहर विरहीले नेपाली प्रेस जगतले निर्धक्क भएर काम गर्न सक्ने अवस्था अझै नरहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विश्वसनीयता र गुणस्तर विकासमा महासंघ अझै सक्रिय भएर लाग्न आवश्यक रहेको प्रष्ट पारेका छन् ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले पत्रकारिता क्षेत्रले राम्रा कामलाई प्रवद्र्धन र नराम्रा कामलाई निरुत्साहन गर्दै देश र जनताको हकहितमा काम गर्न आवश्यक रहेको धारणा राखे । विसं २०१२ साल चैत १६ गते स्थापना भएको पत्रकार महासंघले घोषित आदर्शप्रति अविचलित रही ६३ औँ वसन्त पार गरिसकेको छ । महासंघका महासचिव रमेश विष्टले आधा शताब्दीभन्दा बढी समयदेखि समाजको अग्रणी साझा संस्थाका रुपमा सशक्त भूमिका निर्वाह गर्दै आएको महासंघले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको प्रष्ट पारे । महासंघको नेतृत्वलाई स्थापनाको इतिहासको स्मरण गर्दै उज्ज्वल भविष्यका लागि चिन्तन गर्न वक्ताहरुले सो अवसरमा सुझाव दिएका थिए ।

उक्त कार्यक्रमका बीच नेपाल पत्रकार महासंघद्वारा प्रकाशित पुस्तक पत्रकारिताको बिमोचन समेत गरिएको थियो । नेपाल पत्रकार महासंघले आज दिउँसो ३ बजे देखि केन्द्रिय कार्यालयमा नै चियापान कार्यक्रमको आयोजना गरेको छ । ६३ औं स्थापना दिवसको अवसरमा हिजोदेखि नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गर्दै धुमधामका साथ मनाइरहेका छन् ।