नेकपा माओवादीका कार्यकर्ताद्वारा एनसेल टावरमा आगजनी

झापा, चैत १६ । नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी गरेका छन् ।

उनीहरुले बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन् । इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको बताएका छन् ।

आगजनीबाट एउटा जेनेरेटर, टावरमा रहेको तार जलेर नष्ट भएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि बिहीबारै इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको प्रहरीले जानकारी गराएको छ ।