चितवन, चैत १६ । चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीहरूले नयाँ आचारसंहिता बनाएका छन् ।
पर्यटकको सुरक्षा, अपराध न्यूनीकरण, पर्यटन क्षेत्रलाई शान्तिपूर्ण र मर्यादित बनाउन आचारसंहिता बनाइएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन् नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ष गिरीले बताए ।
सौराहाका होटल तथा रेष्टुरेन्ट गर्मीमा राति १२ बजेसम्म र जाडोमा ११ बजेसम्म खोल्ने गरी आचारसंहिता बनाइएको उनको भनाइ छ । आगामी वैशाख १ गतेदेखि लागू हुने सो १४ बुँदे आचार संहितामा वन्यजन्तुलाई असर गर्ने गतिविधि रोक्ने, ध्वनी प्रदूषण हुन नदिने, हर्न निषेध क्षेत्र घोषणालाई कार्यान्वयनमा ध्यान दिने, पर्यटकलाई दुव्र्यवहार हुनबाट जोगाउने लगायतका छन् ।
यस्तै पर्यटक हिँड्ने बाटोमा पार्किङमा रोक लगाउने, होटलमा आउने पर्यटकको विवरण भरेर राख्ने, वातावरणलाई शान्त बनाउने लगायतका कुरा आचारसंहितामा उल्लेख गरिएको छ । यसअघि पनि यहाँ पटक/पटक आचारसंहिता बनाइए पनि राम्ररी कार्यान्वयन हुन नसकेकाले यस पटक भने आचारसंहितामा कडाइ गरिने रेवानका निवर्तमान अध्यक्ष तथा रत्ननगर नगरपालिका– ७ का अध्यक्ष राजन भट्टले जानकारी गराए ।
व्यवसायीले आचारसंहिता पालन गरे नगरेको बारेमा अनुगमनका लागि स्थानीय प्रशासनलाई आग्रह गरेको छ । सौराहाका ११० वटा सुविधायुक्त होटल र करिब ६० वटा रेष्टुरेण्टले सेवा प्रदान गर्दै आएका छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ ।
वयन्जन्तु तथा थारु संस्कृतिको अवलोकन गर्नुका साथै हात्ती, जिप, डुङ्गा सफारी गर्न सौराहामा पर्यटक आउने गर्दछन् ।