काठमाडौँ, चैत १६ । मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउनुपर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।
नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उनले सो क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार सिर्जना गर्ने बताए । पूर्वाधारका योजना सम्पन्न भएपछि मात्र ठेकेदारलाई भुक्तानी दिनुपर्नेमा जोड दिँदै नेता नेपालले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ, प्रधानमन्त्रीले विभागीय मन्त्रीलाई निर्देशन दिनुभएको छ, अब सचिव, महानिर्देशकले भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुपर्छ भने ।
उक्त अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राजनीतिक अस्थिरताले देशमा विनियोजित विकास खर्च उपयोग हुन नसकेकामा चिन्ता व्यक्त गर्दै सो क्षेत्रमा कानूनका अभावले देखिएका समस्या सुल्झाउनका लागि आफू प्रतिबद्ध रहेको बताए ।
उनले आगामी वैशाखभित्र सडकमा रहेका खाल्डाको व्यवस्थापन गरिने जनाएका छन् । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सडक विस्तारका कारण धुवाँ, धुलो, ट्राफिक चापको समस्या रहेको भन्दै छिटोभन्दा छिटो सडकको स्तरोन्नतिका साथै राष्ट्रिय महत्वका आयोजना तथा पूर्वाधार समयमै पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
विभागका प्रमुख डा विजय पौडेलले समाजवादका लागि भौतिक पूर्वाधारकाबारे कार्यपत्र प्रस्तुत गर्दै उक्त क्षेत्रमा गरिने लगानीको औचित्य, यातायात क्षेत्रको विकासले कृषि क्षेत्रमा पर्ने प्रभाव सम्बन्धी जानकारी गराए ।
मन्त्रालय अन्तर्गतका विभिन्न विभागका प्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञले छवटा कार्यपत्र प्रस्तुत गरेका थिए ।