सार्वजनिक विदा कटौति गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

काठमाडौं, चैत्र १६ ।  पार्टीलाई एकतावद्ध बनाएर लैजान नेतृत्वसँग काँग्रेसका नेताहरुले अनुरोध गरेका छन ।

पार्टीकोजारी केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै अर्जुननरसिंह केसी, एनपी साउद, चीनकाजी श्रेष्ठलगायतका काँग्रेस नेताहरुले देशभर नयाँ जागरण आउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी नेतृत्वसँग अनुुरोध गरेका हुन् । देशभर पार्टीमा नयाँ जागरण आउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजान नेताहरुले पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

नेताकेसीले पार्टीमा पुर्नजागरण ल्याउन तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्ने माग पनि गरेका थिए । बैठकले सार्वजनिक विदा कटौति गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । विभिन्न समुदायसँग समेत छलफल नै नगरी सरकारले एकलौटी ढंगले सार्वजनिक विदा कटौति गर्ने निर्णय गरेकाले त्यसको विरोध गर्नु परेको पनि प्रवक्ता शर्माले जानकारी गराए ।

नेपाली काँग्रेसले पुस २७ गतेको राष्ट्रिय एकता दिवस र फागुन ७ गते प्रजातन्त्र दिवसको विदा कटौति गर्ने सरकारको निर्णयप्रति आक्रोश पोखेको छ । राष्ट्रिय एकता र लोकतन्त्रमाथि नै नकरात्मक सन्देश जाने गरी विदा कटौति गरिएको भन्दै प्रवक्ता शर्माले आक्रोश व्यक्त गरेका हुन् ।

निर्वाचनको समिक्षा गर्न काँग्रेस केन्द्रिय कार्यसमिति बैठक जारी छ ।  बैठकले पार्टीलाई पुर्नजीवन दिने पनि प्रवक्ता शर्माले दावी समेत गरे । बैठकमा नेता रमेश लेखकले पार्टीका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी गराएका थिए । नेता लेखक नेतृत्वको प्रतिनिधिमण्डल भारतमा उपचार गरारहेका नेता खड्काको स्वास्थ्यस्थिति बुझ्न भारत गएको थियो ।