कपिलवस्तु, चैत १८ । कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपन बताएका छन् ।
प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाद्वारा संयुक्त रुपमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताए । सम्पूर्ण खेतीयोग्य जमिनमा चक्लाबन्दीको कार्य अगाडि नबढाइए कृषि उत्पादनमा वृद्धि आउन नसक्ने उनको भनाइ छ ।
खेतीयोग्य जमिनको प्लटिङका नाममा बढ्दो खण्डीकरण रोक्न भूमि नीति र ती भूमिको अधिकतम उपयोग गर्न भूउपयोग नीति आवश्यक रहेकोमा उनको जोड छ । भूमिसम्बन्धी पुराना कानून संशोधन वा नयाँ कानून ल्याएर कार्यान्वयन गर्नुपर्ने मन्त्री खनालको भनाइ छ ।
जमिन बाँझो राख्नेउ पर निगरानी गरी बाँझो जमिनलाई स्थानीय तहको अधिनमा लिई त्यस्ता जमिनलाई कृषि उपयोगमा कसरी ल्याउनेबारे छलफल भइरहेको उनले बताए ।
प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत एक हजार हेक्टर जग्गा एकिकरण गरेर व्यावसायिक खेती गर्ने र थुप्रै बिगाहा खेत बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय सरकारले नियन्त्रणमा लिएर खेती गर्ने अवस्था सिर्जना गुर्नुपर्ने उनले आवश्यकता औंल्याए ।