संस्कृति संरक्षणका लागि मगर संग्रहालय स्थापना

रोल्पा, चैत १९ । मगर संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षणका लागि रोल्पामा मगर संग्रहालयको स्थापना गरिएको छ ।

मगरहरुको मौलिक कला संस्कृति नै हराउने गरी देखिएको आधुनिकताले मगर पहिचान लोप हुन थालेको भन्दै मगर अगुवाले उक्त संग्रहालय खोलेका हुन् । घना मगर बस्ती रहेको रोल्पामा कला, संस्कृति, रहन, सहन र वेशभूषालाई जोगाउँदै पुस्ता हस्तान्तरणका लागिसमेत संग्रहालय स्थापना गरिएको मगर संग्रहालयका अध्यक्ष भीमबहादुर बुढाले बताएका छन् ।

मगरले प्रयोग गर्ने भाँडावर्तन, लत्ताकपडा, बाजागाजा र जीविकासँग सम्बन्धित सामग्री राखिएको उक्त संग्रहालय अवलोकन गर्नेको संख्यासमेत निकै रहेको छ ।

मगर समुदायले उत्पादन गरेका सामान खरिद तथा बिक्रीको सेवासमेत दिँदै आएको संग्रहालयले आगामी दिनमा सेवालाई अझै व्यवस्थित बनाउने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष बुढामगरले बताए ।

पर्यटन प्रवद्र्धनका लागिसमेत यस्ता संग्रहालय सहयोगी हुने भएकाले यसको अझ विकास र प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्ने मगर अगुवाको भनाइ छ । रोल्पामा पछिल्लो जनगणना अनुसार मगरको जनसंख्या करीब ४४ प्रतिशत रहेको छ ।

आफ्नै भाषा, संस्कृति, वेशभूषा र संस्कार संस्कृति भएका मगरको मौलिकता जोगाइराखे जिल्लाको पर्यटन विकासमा समेत सहयोग पुग्ने पर्यटनका जानकारहरुको भनाइ छ ।