द्वन्द्वपीडित नागरिकको घाउमा मलम लगाउन राहतको कार्यक्रम ल्याउने : मन्त्री मगर

कञ्चनपुर, चैत १९ । खानेपानी मन्त्री बिना मगरले दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम पट्टी लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने बताएकी छिन् ।

बेलौरी नगरपालिकाका शहीद तथा बेपत्ता पारिएका परिवारजनलाई साइकल हस्तान्तरण एवं द्वन्द्वपीडित परिवारका सदस्य सम्मान कार्यक्रममा उनले आफूलाई समेत माओवादी पार्टीले शहीद घोषणा गरी श्रद्धाञ्जलि दिइसकेको सम्झना गर्दै मृत्युकुण्डबाट नयाँ जीवन लिएर आएको बताइन् ।

नेकपा (माओवादी केन्द्र) शहीदकै रगतको टीका लगाएर यहाँसम्म पुगेको बताउँदै अब त्यस्तो अवस्था सिर्जना हुन नदिन वाम गठबन्धन गर्नुपरेको मन्त्री मगरको भनाइ छ ।

निर्वाचनका क्रममा जनतासँग गरेका सबै वाचा पूरा गर्न आफू आतुर रहेको उनले बताए । मन्त्री मगरले उक्त अवसरमा नगरपालिकाभित्र रहेका ५७ जना द्वन्द्वपीडित परिवारका सदस्यलाई साइकल हस्तान्तरण गरिन् ।