बङ्गलादेशमा बाढी पहिरोका कारण १५४ को मृत्यु

चटगाउँ (बङ्गलादेश), १ असार । दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ । एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ ।

संकटकालीन उद्धार टोलीले बिहीबारबाट भीषण पहिरोबाट प्रभावित इलाकामा हराएका व्यक्तिको खोजीको काम भने बन्द गरेको बताइएको छ । पाँच वटा पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यलाई निरन्तरता दिएको र हराएकाको खोजीलाई स्थगित गरेको स्थानीय अग्नीनियन्त्रक प्रमुख दिदारुल अलामले एएफपी समाचार समितिलाई बताउनु भएको छ । पहिरो प्रभावित इलाकामा १.२ मिटरसम्म हिलोमाटो जमेर रहेको र सो माटोमा शवहरु पुरिएको पुष्टि नभएको स्थानीय बासिन्दाले जानकारी दिएपछि खोजी कार्य रोकेको अलामले जानकारी दिएका छन् ।

बङ्गलादेशको इतिहासमा करिब एक दशक अघि गएको पहिरोमा १२७ व्यक्तिको मृत्यु भएको थियो । त्यसपछिको बाढी प्रकोपको यो नै भीषण भएको बताइएको छ । पहिरोले अत्यन्त प्रभावित रन्गामति जिल्लाका आदीवासी समुदायका नेता विजोय गिरी चक्माले एएफपीलाई दिनुभएको जानकारी अनुसार यस प्रकार पहिरोले क्षति पुग्नुमा अव्यवस्थित रुपमा भवन निर्माण र ठूलो परिणाममा रुखहरु कटानी रहेको छ ।

उहाँले भन्नुभयो, मानवले नै निम्याएको यस प्रकोपलाई प्राकृतिक प्रकोपको नाम दिइएको छ जुन राम्रो होइन । पहिरो प्रभावित पहाडी जिल्लाका चार हजार पाँच सय व्यक्ति विस्थापित भई १८ वटा शिवीरमा बसोबास गरेका बताइएको छ ।
एएफपी