उदयपुर, चैत २० । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्ड अन्तर्गतको सडक निर्माणको कार्य अगाडि बढाइएको छ ।
उदयपुरको सदरमुकाम गाईघाटबाट तेइस वर्षपछि पहिलोपटक सडक कालोपत्रे र नाला निर्माणको काम शुरु भएको हो । गाईघाट—दिक्तेल सडक कार्यालय, उदयपुरका अनुसार कात्तिक महिनादेखि गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पहिलो चरणमा उदयपुरको गाईघाटस्थित त्रियुगा पुलदेखि गाईघाटको मुख्य चोकसम्मको सडक कालोपत्रे र बृहत् नाला निर्माणको काम औपचारिक रुपमा थालिएको हो ।
पहिलो चरणमा गाईघाटको त्रियुगा नदीदेखि गाईघाट बजारको ट्राफिक चोकसम्मको एक किलोमिटर लम्बाइ र २५ मिटरको चौडाइ सडकसहितको नाला निर्माण र सडक कालोपत्रेको काम थालिएको गाईघाट—दिक्तेल सडकखण्डका प्रमुख इञ्जिनियर निज्जल श्रेष्ठले बताए ।
नेपाल सरकार सडक विभागको रु ११ करोड ९८ लाख बराबरको आर्थिक लगानीमा पहिलो पटक उक्त सडकखण्डको नाला निर्माण र सडक कालोपत्रे गर्ने काम औपचारिक रुपमा अगाडि बढाइएको कुरा गाईघाट दिक्तेल सडक कार्यालयले बताएको छ ।
सूर्य कन्ट्रक्शन प्रालि निर्माण कम्पनीले २०७५ को कात्तिकभित्र काम सम्पन्न गर्ने गरी आफूहरुले कार्य थालेका कुरा सो कम्पनीका सञ्चालक प्रदीपकुमार कार्कीले जनाएका छन् । अब क्रमशः उदयपुरदेखि खोटाङको दिक्तेलसम्म १५८ किलोमिटर सडकखण्डमा सडकको नाला निर्माण र कालोपत्रेको काम थालेको पनि गाईघाट—दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा गाईघाट—दिक्तेल सडकको औपचारिक शिलान्यास गरेपछि सो सडक निर्माण काम थालिएको थियो । अहिले २३ वर्ष बितिसक्दा पनि उक्त सडकखण्डमा सडक ग्राभेलिङ हुन नसकेको र सडकका नाला निर्माण तथा कालोपत्रे कार्यसमेत हुन सकेको छैन ।
यस्तै, सडकखण्ड अन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा अहिले पनि स्थायी पुल निर्माण हुन नसकेको यातायात व्यवसायीहरुको भनाइ छ ।
ढिलै भए पनि २३ वर्षपछि पहिलो पटक कछुवाको गतिमा उक्त सडकखण्डमा नाला निर्माण र सडक कालोपत्रेको काम औपचारिक रुपमा थालिएको हो ।