विद्यार्थी संगठनद्वारा वाल्मीकि क्याम्पसको व्यवस्थापन सुधारको माग

काठमाडौँ, चैत २० । राणाकालमा स्थापित तीनधारा पाठशाला (वाल्मीकि क्याम्पस) मा व्यवस्थापनको कमजोरीले गर्दा विद्यार्थीहरुको आकर्षण न्यून हुँदै जान थालेको छ ।

संस्कृत भाषाका अतिरिक्त बौद्धदर्शन, अंग्रेजी, गणित, अर्थशास्त्र, तन्त्रमन्त्र आदि गरी कूल २१ विषयमा पढाइ हुने उक्त क्याम्पसमा पढ्न आउने विद्यार्थीको संख्या कम भई हाल ८१० जना छात्रछात्रा मात्र अध्ययन गरिरहेका छन् । शिक्षक र कर्मचारी भर्ना गर्ने प्रवृित्त वृद्धि हुँदै गएका कारण त्यहाँ पढ्ने विद्यार्थी र शिक्षकको संख्या उस्तै उस्तै हुने गरेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले बताएका छन् ।

उनीहरुका अनुसार संस्कृत विश्वविद्यालयको सम्बन्धन प्राप्त देशभरिका १९ क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या तीन हजार ७०० तथा शिक्षकको संख्या एक हजार २०० नाघेको छ ।

अनेरास्ववियु(क्रान्तिकारी) वाल्मीकि क्याम्पसका अध्यक्ष आइपी आचार्यका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक अवस्था निकै खस्केको छ । यसबाट आम विद्यार्थी निकै चिन्तित रहेको बताउँदै उनले भने वाल्मीकि क्याम्पसमा २२ वर्ष पुरानो पाठ्यक्रममा आधारित पाठ पढाइन्छ, यो एकदमै बिजोग व्यवस्थापन हो ।

उत्तरमध्यमा, शास्त्री तथा आचार्य तहको पढाइ हुने त्यस क्याम्पसमा वार्षिक रु ५७ करोडको लगानी हुने गरिएको छ । क्याम्पस हाताभित्र रहेको १५ सटरबाट करोडौँ रुपैयाँ भाडा उठ्ने गरेको छ । क्याम्पस व्यवस्थापनले भूकम्पबाट क्षतिग्रस्त भवनको जीर्णोद्धार, शौचालयको राम्रो व्यवस्थाजस्ता आधारभूत सुधार गर्नेतर्फ ध्यान नदिएको अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीका अध्यक्ष लोककृष्ण दाहालले आरोप लगाएका छन् ।

संस्कृत छात्रावास लथालिङ्ग रहेको र पहिलेको सयौँ वर्ष पुरानो संरचनन अनुसार सञ्चालन भइरहेको भन्दै उनले अहिलेको परिवर्तित परिवेश अनुसार सम्पूर्ण क्षेत्रमा परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । नेविसंघ वाल्मीकि एकाइका अध्यक्ष अच्युत लम्सालले यहाँबाट शिक्षा हासिल गरेर गएका विद्यार्थी पूजापाठमा मात्र सीमित हुने भएकाले पनि संस्कृत पढाइमा विद्यार्थीको आकर्षण घटेको बताए ।

हाम्रो सामूहिक माग भनेको पाठ्यक्रम परिमार्जन, शुल्क वृद्धि फिर्ता, दीक्षान्त समारोह आयोजना, स्ववियु चुनाव घोषणा, विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्छ भन्ने हो उनले भने । उनले विद्यार्थी र प्राध्यापक हाराहारी हुने गरी क्याम्पसलाई राजनीतिक भर्तीकेन्द्र बनाउने काम बन्द गर्न व्यवस्थापनलाई सुझाव दिए ।

अनेरास्ववियु, अखिल(क्रान्तिकारी) र नेविसंघले क्याम्पसको अस्तव्यस्त स्थितिविरुद्ध चरणबद्ध आन्दोलन गरिँदै आएको जानकारी दिँदै उनले वाल्मीकि क्याम्पसको प्रशासन र नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरिएको जानकारी गराएका छन् ।