पर्याप्त जनशक्तिको अभावमा नगर प्रहरीलाईे निर्णय कार्यान्वयनमा कठिन

ललितपुर, चैत २० । ललितपुर महानगरपालिकाको क्षेत्र पहिलाको भन्दा दोब्बर भएपनि महानगरपालिकामा नगर प्रहरी संख्या भने थपिएको छैन ।

पर्याप्त जनशक्तिको अभावमा नगर प्रहरीलाई महानगरपालिकाको निर्णय कार्यान्वयन गर्न कठिन भएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । तीसजनाको दरबन्दी भएकामा अहिले २३ जना नगर प्रहरी मात्रै कार्यरत छन् । उपमहानगरपालिका हुँदा १५ किलोमिटर क्षेत्रफल थियो ।

अहिले महानगरपालिकामा सात वटा वडा थपिएर ३२ किलोमिटर भएको छ । नयाँ क्षेत्र थपिँदा जिम्मेवारी थपिए पनि आफूहरुलाई काम जनशक्ति र साधन दुवै कमी भएको उनको भनाइ छ । हामीले जिम्मेवारी थपिएकाले जनशक्ति थप गर्न जनप्रतिनिधिलाई पनि भनिरहेका छाँै महर्जनले भने ।

उपमहानगरपालिका हुँदादेखि नै जनशक्ति कम भएकामा क्षेत्र बढ्दा जनशक्तिको कमी भएको हो । पहिले महानगरपालिकाको भवन सुरक्षाका लागि गार्डको छुट्टै दरबन्दीको व्यवस्था भए पनि अहिले छैन । ऐनले पनि स्थानीय निकायको सम्पत्तिको सुरक्षाको जिम्मेवारी नगर प्रहरीलाई दिएको छ । अहिले दैनिक छ÷सातजना मुख्य भवनको सुरक्षार्थ खटिने गरेका छन् ।

सडक व्यापारीले नगर प्रहरीको आँखा छलेर सडकको बीच भागमा व्यापार गर्छन् । नगर प्रहरी दैनिक रुपमा बजार व्यवस्थापनमा खटिनुपर्ने उनले बताएका छन् । हामीले गर्नुपर्ने धेरै काम भए पनि जनशक्ति अभावले अपेक्षा गरे अनुसारको गर्न सकेका छैनौँ उनले भने ।

स्थानीय निकायको भवनको सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा, महानगरपालिकाको निर्णय कार्यान्वयन, बजार व्यवस्थापन, पार्किङ व्यवस्थापनलगायतका जिम्मेवारी नगर प्रहरीको काँधमा रहेको उनको भनाइ छ ।