जागिर भन्दा व्यवसाय उत्तम : दूध बेचेर मासिक असी हजार आम्दानी

DARFIELD, NEW ZEALAND - NOVEMBER 30: Dairy cows seen on a farm in north Canterbury on November 30, 2012 in Darfield, New Zealand. Fonterra today is coinciding the opening of its new processing facility in Darfield with its release on the New Zealand Stock Exchange, launching with an expected NZD$550 million value. (Photo by Martin Hunter/Getty Images)

रामपुर, पाल्पा, १ असार । शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना अहिले दुध बेचेर मासिक ८० हजार आम्दानी गर्छन । दैनिक गुजारा चलाउन जागिरे जीवनलेसमस्या परेपछि शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा ढुंगाना संलग्न भएका हुन् । गाईपालन सुरु गरेपछि उनको दैनिकीमा नै आमूल परिवर्तन आयो ।

जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन ठूलै समस्याको समाधान गर्नुपर्ने भएकाले ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्दै जनजिवनमा परिवर्तन ल्याएका छन् । पाँच वर्षसम्म शिक्षण पेसाको अनुभव लिनुभएका ढुङ्गानाले जागिर छाडेपछि एउटा स्थानीय जातको गाईबाट व्यवसाय थालनी गरेको बताउँछन् । उनको फार्ममा हाल उन्नत जातका १० वटा गाई र दुई वटा बाच्छा छन् । सो फार्मबाट दैनिक ५० लिटर दूध उत्पादन हुन्छ । जागिरले दैनिक गुजारा चलाउन निकै धौ धौ परेको थियो, छोरा छोरीको पढाइ खर्च जुटाउन निकै ठूलो समस्या भएपछि जागिर छोडेर गाईपालन सुरु गरेको हुँ, उनले भने । अहिले घरबाटै नै दूध बिक्री गर्दै घरमै बसीबसी मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी भएको उनी बताउँछन् ।

ढुंगानाका अनुसार एउटा गाईबाट आठ लिटरसम्म दूध उत्पादन हुन्छ । गाईफार्म सँगसँगै दिनभरको फुर्सदको समयलाई सदुपयोग गर्दै तरकारीखेतीलाई समेत प्राथमिकता दिदै आएका छन् । कृषि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन् । ढुङ्गानाले मकै बालीमा राष्ट्रियस्तरको दोस्रो पुरस्कार समेत प्राप्त गरेका छन् । यो पेसा व्यवसायलाई आजिवन निरन्तरता दिने उनको अठोट छ । उन्नत जातका गाई पाल्ने ढुंगानाले सोच बनाएका छन् । उनको फस्टाउँदो व्यवसाय देखेपछि गाउँका अन्यले समेत गाईपालनबाट लाभ लिन थालेका छन् ।

जागिरे जीवन बन्धन र परिवारको गुजारा चलाउन नपुग्ने तलबमा भुलेर समय बिताउनुभन्दा कृषि व्यवसाय गरेर आफ्नै मेहनत र पाखुरीमा रमाउन सबैलाई उनको सुझाव छ । स्नातक तहसम्मको अध्ययन पूरा गरेका ढुङ्गानाले शिक्षित युवालाई जागिरमा सीमित रहनुभन्दा व्यवसाय गरेर नमुना उद्यमी बन्न हौसला प्रदान गर्दै आएका छन् । सिमित समय व्यवसायमा लगानी गर्नाले सफल उद्यमी बन्न सकिने उनको ठहर छ । विदेशको प्रलोभनमा युवाहरु विदेशिनुको सट्टा आफ्नै देशमा केही गरेमा उदाहरणीय काम गर्न सकिन्छ भन्ने उदाहरणको पात्र ढुंगााना बनेका छन् ।