काठमाडौँ, चैत २१ । वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई वातावरण विभाग, कुपण्डोलले कारवाही गरेको छ ।
समुदायमा उद्योगले प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको हो । आज प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को चैत महिनासम्म श्री अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि खैरेनी तनहुँ, कमला रोलिङ मिल्स प्रालि टंकिसिनुवारी मोरङ, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्र काठमाडौँ, श्री हारती एग्रिगेट इन्डष्ट्रिज प्रालि शुक्ला गण्डकी नगरपालिका–२ (तनहुँ) र श्री विष्णु टेक्सटाइल प्रोसेसिङ इन्डष्ट्रिज बालाजु औद्योगिक क्षेत्र (काठमाडौँ) गरी पाँच वटालाई कारवाही गरेको जानकारी गराएको छ ।
प्रदेशगत रुपमा प्रदेश नं १ मा १२, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा ११, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा २० र प्रदेश नं ७ मा एक गरी जम्मा ७० वटा उद्योग तथा औद्योगिक उद्योग प्रतिष्ठानको अनुगमन भएको विभागले जनाएको छ ।
आव २०७२/७३ मा सबैभन्दा बढी उद्योग (हालसम्मको कारवाहीको ७५ प्रतिशत) कारवाहीमा परेका थिए भने आव २०७३/७४ मा ९.३८ प्रतिशत र यस आवमा १५.६३ प्रतिशत उद्योग प्रतिष्ठान कारवाहीमा परेका छन् ।