चितवन, चैत २२ । चेली नेपालले मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिकाभित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले बताए ।
संस्थाले चितवनका विभिन्न क्षेत्रमा मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावित तथा उच्च जोखिममा रहेका चेलीका लागि यस्ता खालका कार्यक्रम गर्दै आएको छ ।
बुधबार भरतपुर महानगरमा छात्रवृत्ति दिएको चेली नेपालले आज दिउँसो चितवनको कालिका नगरपालिका क्षेत्रका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सिन्धु ढकालले बताइन् ।
समस्या आउनु भन्दा अगावै रोकथाम गर्ने र चेलीलाई शिक्षासहित सवल बनाउनका लागि संस्थाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको चापागाइले जनाएका छन् ।