काठमाडौँ, १ असार । दोश्रो चरणको स्थानीय तहकोे निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चितताका लागि उम्मेदवार मनोनयन दर्ता मिति दुई दिनपछि सारिएको छ ।
सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा सरकारको आग्रहपछि दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको निर्धारित समयमा हेरफेर भई असार २ गतेको उम्मेदवार मनोनयन दर्ता असार ४ गते सार्न आयोग सहमत भएको हो । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि त्यसबारेमा अघि बढ्ने बताएका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाउने सङ्केत देखाएपछि सरकारले उम्मेदवार मनोनयन मिति यही असार ४ गते तोक्न आयोगलाई आग्रह गरेको थियो । बैठकमा सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्न गरेको आग्रहका सम्बन्धमा भने आफूहरुको कुनै प्रतिक्रिया नजनाएको प्रमुख निर्वाचन आयुक्तले जानकारी गराएका छन् ।
प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन पहिलो चरणमा गत वैशाख ३१ गते सम्पन्न भइसकेको छ भने प्रदेश नं १, ५ र ७ मा यही असार १४ गते हुँदैछ । प्रदेश नं २ मा भने सरकारले राजपाको आग्रहअनुसार स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तोक्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनलाई सभ्य रुपमा सबैलाई समेटेर सम्पन्न गर्नका लागि सरकार दत्तचित्त भएर लागि परेको प्रम देउवाले जानकारी गराएका छन् ।