कारागारमा रहेका कैदीबन्दीले आयमूलक काम गर्दै

ललितपुर, चैत २३ । नख्खु कारागारमा रहेका कैदीबन्दी विभिन्न संस्थासँग आवद्ध भएर वा व्यक्तिसँग सम्पर्कमा रहेर आयमूलक काममा लागेका छन् ।

उक्त कैदीबन्दीले सीपमूलक काम गरेर आयआर्जन गरेको जेलर टेकबहादूर केसीले बताएका छन् । उनीहरुले कारागार भित्र मुढा बनाउने, पोते उन्ने, फर्निचर, थान्कालगायतका काम गर्छन् ।

सरकारी र गैरसरकारी संस्था दुबैले समय–समयमा सीपमूलक तालीम दिँदै आएका छन् । कतिपय संस्थाले विभिन्न किसिमका तालीम दिनेसँगै कच्चापदार्थ उत्पादन र सामग्री बेच्नसमेत सहयोग गर्ने गरेका छन् । यहाँ रहेका कैदीबन्दी केही न केही काममा आवद्ध छन्, खाली कोही छैनन् केसीले भने ।

पहिले नै ज्ञान भएकाले भित्र फर्निचर उद्योगसमेत चलाएका छन् । कारागारमा अहिले नयाँ भवन निर्माण भइरहेको छ । भवन निर्माणको काम कैदीबन्दीले नै गरेका छन् ।

अरु सीप नभएकाले सहयोयी कामदारका रुपमा काम गरेका छन् । हामीले पनि त्यसै बस्नु भन्दा केही काममा लाग्न सल्लाह दिन्छौं उनले भने ।