नवलपरासी, चैत २५ । पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय निर्माण गरिएको छ ।
रु छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर निर्माणमा सरकारले रु पाँच करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैंँले उपलब्ध गराएको हो । उक्त भवनमा ७२ कोठा रहेका छन् ।
चिकित्सालयमा हाल ८० बिरामीले आवासीय सुविधासहित उपचार गराउने गरेका छन् । सो भवन निर्माणसँगै आवासीय क्षमता १५० पुगेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताए ।
पछिल्ला वर्षमा बिरामीको चापमा वृद्धि हुँदै गएको व्यवस्थापक सापकोटाको भनाइ छ । चिकित्सालयले यसै वर्ष आधुनिक उपचार उपकरण पनि ल्याएको छ ।
कोलन हाइड्रोथेरापी, सर्कलुर जेट बाथलगायत अन्य उपचार उपकरण थप गरिएको छ । चिकित्सालयले प्रतिबिरामी प्रतिदिन उपचार, खाना र आवाससहित गरेर रु ७५० लिने गरेको छ ।