काठमाडौँ, चैत २५ । जनआन्दोलन दिवसका अवसरमा गोकर्णमा ‘नेपाल साहित्य महोत्सव’ हुने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा यही चैत २६ गते हुने सो महोत्सवमा बहुभाषिक कविगोष्ठी, पुस्तक तथा पत्रपत्रिका प्रदर्शनी, विद्यालयस्तरीय सांस्कृतिक, लोक तथा राष्ट्रिय नृत्य, स्थानीय झाँकी प्रदर्शनीलगायत कार्यक्रम हुने छ ।
महोत्सव व्यवस्थित पार्नका लागि प्रतिनिधिसभा सदस्य कृष्ण राई र प्रदेशसभा सदस्य रामेश्वर फुयाँलको संयोजकत्वमा ५१ सदस्यीय मूलआयोजक समिति गठन भएको छ ।
समितिका संयोजक राईले मुलुकमा प्रजातान्त्रिक प्रणाली स्थापना गर्नका लागि गरिएको आन्दोलनको ऐतिहासिक पक्षलाई स्मरण गरेर हुन लागेको साहित्यिक गतिविधिले विभिन्न समयमा देशमा भएका आन्दोलन र संघर्षका आयामलाई समेट्ने विश्वास राखेका छन् ।
पञ्चायती शासनविरुद्ध वि.सं २०४६ फागुन ७ गते थालेको जनआन्दोलन दुई महिना बित्न नपाउँदै उत्कर्षमा पुगेपछि चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले दलमाथि लगाइएको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्था ल्याएका थिए ।