काठमाडौँ, चैत २५ । विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले घटनाको अविलम्ब छानवीनको माग गरेका छन् ।
राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत बनाउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।
विज्ञप्तिमा अपराधीलाई सजाय दिन र यस प्रकारको घटना पुनः दोहोरिन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दण्डित गर्नुपर्ने माग राखेका छन् ।
एकीकृत राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पनि हिन्दू धर्मका पक्षमा वकालत गर्ने गुरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई प्रहार गर्ने योजनाबद्ध शृंखलाको विरोध गरेका छन् ।
हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले ‘हिन्दू धर्म, संस्कृति, परम्परालाई हतोत्साहन गर्न गराइएको’ सो घटनाका अभियुक्त, मतियार र योजनाकार सबैलाई कारवाही गर्न माग गर्दै घाइते गुरुको उपचारमा विशेष ध्यान दिन सरकारसँग अनुरोध गरेका छन् ।