चितवन, चैत २६ । नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेकोे उनको भनाइ छ । दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै कोइरालाले भने दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन । सभापति देउवाप्रति कडा प्रतिक्रिया दिँदै उनले पार्टी हारेको नभइ व्यक्ति हारेको बताएका छन् ।
जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन कोइरालाले भने ।
विधानसम्मत समयमै महाधिवेशन गरेर पार्टीलाई गति दिनुपर्ने उनको भनाइ छ । एक वर्ष ११ महिना समय रहेको भन्दै उनले यहीभित्र विधान अधिवेशन र महाधिवेशन गरेर पार्टीलाई जीवन्त बनाउन माग गरेका छन् । उनले फरक प्रसङ्ग निकाल्दै प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको बताएका छन् ।
नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो उनले भने । डेढ वर्षअघि नै रेलको सर्वेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको उनको दावी छ ।
कोइरालाले अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर हुँदा र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन भताभुङ्ग भएको भन्दै नेपालको अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले नै प्रभावित पारेको बताए ।
कोइरालाले जनआन्दोलनपछि भएका सरकारमा अर्थ मन्त्रालयको नेतृत्व ७६ प्रतिशत कम्युनिष्ट र २४ प्रतिशत काँग्रेसले गरेको भन्दै अर्थतन्त्र बिगार्ने काममा काँग्रेस नभएर कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप लगाएका छन् ।