विराटनगर, चैत २७ । तीन तहको संघीय संरचना अनुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
उनले स्थानीय निकायमा जनताको सेवा गर्ने कर्मचारी अपुग भएकाले आवश्यक दरबन्दी पूरा गर्न सरकारले कर्मचारीको स्वेच्छिक अवकाश स्थगन गरेको प्रष्ट्याएका छन् ।
उनले सबै कार्यालयमा परिपत्र पठाई स्थानीय निकायमा खटिएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन मन्त्रालयले रोक लगाएको बताउँदै लुकीछिपी हाजिर गराउनदिने प्रमुखलाई कारवाही गरिने चेतावनी दिए ।
कर्मचारीलाई सरकारले खटाएका ठाउँमा जान बारम्बार आह्वान गरिएको बताउँदै मन्त्री पण्डितले नगएमा त्यस्ता कर्मचारीलाई बिदा दिइने बताए ।
उनले आफूले चाहेको सचिव आफ्नै मन्त्रालयमा हुनुपर्छ भन्ने सोच राख्नु नहुने बताउँदै सबै सचिवहरुले आ–आफनो जिम्मेवारी लिइसकेको जनाएका छन् ।