चर्को शुल्क असुल्ने विद्यालयलाई कारवाही गरिने : महानगर

काठमाडौँ, चैत २७ । निजी विद्यालयको चर्को शुल्कवृद्धि तत्काल रोक्न माग गर्दै तीन विद्यार्थी संगठनले देशभरका ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले निजी विद्यालयले मापदण्ड भन्दा बढी शुल्क लिएको भन्दै त्यसलाई रोक्न माग गर्दै आज एकसाथ ७५३ स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराए ।

काठमाडौँं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि विद्यार्थी संगठनले आजै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै शाक्यले चर्को शुल्क लिने विद्यालयको अनुगमन भइरहेको र मापदण्डभन्दा बढी लिने विद्यालयलाई कारवाही गरिने बताए ।

कक्षा १ को भर्नामै लाखौंँ रकम असुलिएको सुन्नमा आएको छ उनले भने– हामी त्यस्ता चर्को शुल्क लिने विद्यालयको अनुगमन गरिरहेका छौँ । निजी विद्यालयले शुल्क निर्धारण गर्दा स्थानीय तहसँग स्वीकृति लिएर गर्नुपर्ने व्यवस्था भए पनि त्यसो नगरेको पाइएको उनले बताएका छन् ।

संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको छ । विद्यालय तहको शिक्षामा शुल्क निर्धारण र अनुगमनको दायित्व स्थानीय तहको भएकाले निजी क्षेत्रमा गरिएको मनपरी शुल्क वृद्धि स्थानीय तहबाट तत्काल नरोकिए कडा संघर्षमा उत्रन बाध्य हुने अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाको भनाइ छ ।