चितवन, चैत २९ । अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
आज भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आयोजित शोकसभामा बोल्दै उनले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने जानकारी गराएका छन् ।
अध्यक्ष दाहालले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले पार्टी एकता टङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौ भने ।
मिडियाबाट आएका कतिपय समाचार भ्रामक र बनावटी रहेको भन्दै अध्यक्ष दाहालले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रस्ट पारेका छन् । नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम हुने उनको भनाइ छ ।
जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको जनाउँदै उनले त्यसको पक्षमा आफूहरु रहेको बताएका छन् । छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उनले त्यसले विकास निर्माणमा नयाँ गति लिओस् भनेर छलफल भइरहेको जानकारी दिएका छन् ।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि जानकारी गराएका छन् । त्यसलाई महानगरबाट सिफारिस भइसकेको दाहालको भनाइ छ ।
अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आज नेकपा (माओवादी केन्द्र) १४ नं वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।