काठमाडौँ, चैत ३० । सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दी अनुसार मन्त्रालयलाई एकीकृत गर्ने काम थालेको छ ।
केही दिनअघि मात्र मन्त्रिपरिषद्द्वारा पुनःगठित मन्त्रालयका पुनःसंरचनासहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । निजामती किताबखानाबाट स्वीकृत गरिएको दरबन्दीलाई दर्ताका लागि पठाइएको उनको भनाइ छ ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे अनुसारको पुनर्गठित मन्त्रालयको संरचना बनाउने कार्य थालिएको बताउँदै उनले किताबखानाबाट दरबन्दी स्वीकृत गरेर आएपछि चाँडै नै मन्त्रालयलाई एकीकृत गरिने जनाएका छन् । मन्त्रिपरिषद् बैठकले २१ वटा मन्त्रालयको सांगठनिक र दरबन्दीको पुनःसंरचना गर्दै दुई हजार ६९४ जनाको दरबन्दी कायम गरेको थियो ।
सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २३३ र कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ४६ जनाको दरबन्दी स्वीकृत गरिएको छ । कूल ३१ बाट २१ मन्त्रालय कायम गरिए पनि मन्त्रालयको काम अझै एकै ठाउँबाट हुन सकेको छैन । एउटै मन्त्रालयमा पनि दुईभन्दा बढी सचिव र प्रवक्तासमेत हुने गरेका छन् ।
प्रवक्ता न्यौपानेले एकीकृत रुपमा मन्त्रालयलाई समायोजन नगरे पनि पहिले भएको संरचना अनुसार मन्त्रालय रहने जानकारी गराए ।