विराटनगर, वैशाख २ । भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।
शनिबार साँझ विराटनगरमा चार तारे बिग होटलको उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा पर्यटकको कुनै कमी नहुने जिकिर गरेका छन् । विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित सो होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । छ तल्ले होटलमा स्वीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहना अनुसार तीन वटा स्विट कोठाको व्यवस्था छ ।
पर्यटकको बसाइलाई ध्यान दिँदै उनीहरुको सहजताका लागि होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताएका छन् । निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश १ को माग अनुसार स्तरीय होटल सञ्चालनमा ल्याएका अर्का संचालक रुपमणि राजभण्डारीले बताए ।
होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनुका साथै थप एक सेमिनार हलको निर्माण गर्ने निर्देशक न्यौपानेको भनाइ छ ।