बर्ष २०७४ तपाईं हामी बिचबाट सदाको लागि बिदा भएर गएको छ । हुन त इतिहासका कालखण्डहरुमा धेरै बर्षहरु बिलिन भए, तपाईं हामीबिचबाट बिदा भएर गए प्रत्येक बर्ष, क्षणहरुको लेखाजोखा गरेर साध्य त छैन तर बर्ष २०७४ मुलुक र जनताको उन्नति र प्रगतिको खातिर कति उपलब्धिको बर्ष साबित भयो, कति असफलता र अवनतिको बर्ष भएर इतिहासका पानाहरुमा दर्ज भयो चर्चा गर्न जरुर ठानेको छु ।
नेपाली आकाशमा मडारिएको अस्थिरताको कालो बादल हटेर नेपाली मनहरुमा मलमपट्टी लगाउने विगत द्वन्द्वले दरार पैदा गरेको नेपाली समाजको दरार पुर्ने र शान्ति र मेलमिलापको वातावरण सिर्जना गर्नेतर्फ आशातित प्रगति हुन नसकेको महशुस गरेको छु । विगत लामो समयदेखि मुलुकमा विद्यमान सबै किसिमका अन्यौंलता र अस्थिरताबाट मुलुकलाई निकाश र जनतालाई विकाशको थोरै आभाष र अनुभुति दिने धेरै महत्वपूर्ण कामहरु सम्पन्न भएपनि कार्यान्वयनको कठिन र चुनौतिका पहाडहरु हामीसामु खडा गरेर बिदा भएको छ २०७४ साल । राजनैतिक खिचातानीबाट मुलुकलाई निकास दिने र नयाँ संविधान र संघीयता कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण राजनैतिक उपलब्धी र परिवर्तन सफल भएका छन् ।
विगत २० बर्षदेखी सम्पन्न हुन नसकेको स्थानीय तहको निर्वाचन, संघियता र नयाँ संविधान कार्यान्वयनको मुल जरोको रुपमा रहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुँदै मुलुक नयाँ संरचना र अभ्यासको बाटोमा यात्रा तय गर्न सफल रह्यो भने यस बिचमा धेरै राजनैतिक खिचातानी र र सत्ता राजनीतिको झिनाझपटीको श्रृङ्खला निरन्तर दोहोरिरह्यो भने राजनैतिक शक्तिहरुविच देखिएको धुव्रीकरणले मुलुकको राजनीति स्थिरता या अस्थिरताको बाटोमा छ भनेर आम जनतालाई अलमलमा पारिरह्यो । नयाँ अभ्यासमा रहेको बाम धु्रवीकरणले काँग्रेसलाई नराम्रो धक्का र पराजय हात लागेपनि यो कुरालाई सदुपयोग गरेर आफ्ना आन्तरिक साँगठनिक जीवन र आन्तरिक संरचनालाई सही र व्यवस्थित परिचालन र व्यवस्थापन गर्न सक्ने हो भने उसका लागि राजनैतिक अवसर प्राप्त भएको छ । अर्कोतर्फ विगतका धेरै सरकारले सम्पन्न गर्न नसकेका तिन वटै तहका निर्वाचन शान्तिपूर्ण र सबैको सहभागितामा सम्पन्न गरेर काँग्रेस आफु हारेर पनि सदैव कठिन र चुनौतिमुलुक अभिभारा पुरा गर्ने राष्ट्रलाई निकास दिने कार्य गर्दछ भन्ने महत्वपूर्ण अवसरलाई सही सदुपयोग गर्न सफल भएको छ ।
बिशेषतः नेपाली काँग्रेस र पार्टी सभापति शेरबहादुर देउवालाई लागेका धेरै आरोप, विविध अवरोध र आशंकाबीच स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भयो र विगतको राजनैतिक आकार प्रकारमा अदल्बदल्को अवस्था सिर्जना गर्यो अर्कोतर्फ एमाओवादीको सत्ता लिप्सा, दम्भ, अहंकार र घुर्की मित्थ्या सावित गर्यो जसले नेपाली जनतामा नयाँ आशा र विश्वासको दिप प्रज्वलित त गर्यो बाम गठबन्धनले बहुमत प्राप्त पनि गर्यो तर जनताको अपेक्षा र चाहाना बमोजिम काम भने अगाडि बढ्न सकेन जसले नेपाली राजनीतिले समयमै सही दिशा लिनेतर्फ समेत थप चुनौति र शंसय पैदा गरेको छ ।
राजनैतिक रुपमा मुलुक एक अर्को नयाँ अध्यायमा प्रवेश गर्दै गर्दा बर्ष २०७४ सालमा मुलुकमा केही त्यस्ता अनपेक्षित घटनाहरु समेत घटे जसले नेपालीहरुलाई पिडाको महशुस मात्र गराएनन् चिरकालसम्म झस्काइरहने छन् । काठमाण्डौमा निर्माण व्यबसायी शरद गौचनको आपराधिक समुहद्धारा गरिएको हत्या, होस या बर्षायामको सुरुवात मै जलमग्न बनेको कष्टकर तराईको जनजीवन, बाडी पहिरो र प्राकृतिक विपत्तीबाट आहात नेपालीको अवस्था, चार बर्षसम्म पनि त्रिपालमुनी बास बस्न विबश भुकुम्प पिडितको पिडामा यथासक्य मल्हम लाग्न नसकेको तितो यतार्थ तपाई हाम्रा सामु जगजाहेर नै रह्यो भने अर्कोतर्फ बर्षको अन्त्य तिर त्रिभुवन विमान स्थलमै भएको युएस बंगला बिमान दुर्घटनाबाट भएको जन धनको क्षतिले पनि मुलुकलाई अपुरणिय क्षति पुग्न गएको कहालीलाग्दो अवस्थाले हामी सवैलाई स्तब्ध बनायो ।
त्यस्तै हत्या, बलात्कार, महिला हिंसा समाजमा व्याप्त सामाजिक कु संस्कार र कुरीतिबाट उत्पन्न समस्याहरु घटि नै रहेपनि तुलनात्मक रुपमा कमी आएपनि मुलुकको सक्रिय श्रम शक्ति युवा बेरोजगारी समस्या अझ चर्को र विकराल बन्दै जादा युवा पलायन अझ वृद्धि भएर गएको छ । राजनैतिक शक्तिहरुले चुनावी घोषणापत्र र नारामा आर्कषक प्रतिबद्धता व्यक्त गरेपनि रोजगारी सृजना गर्ने र युवा पलायन रोक्नका लागी स्वरोजगारका कार्यक्रमहरु प्रतिबद्धतामै सिमित राखे भने राज्यका सवै निकायमा व्याप्त भ्रष्टाचार अझ मौलाउँदै र संस्थागत हुँदै गयो । अख्तियार प्रमुख लोकमानसिंह कार्की महाअभियोग प्रकरण हुँदै प्रहरी प्रमुख नियुक्तिको बिषयले प्रधानन्यायधिस शुसिला कार्की प्रकरणसम्म आईपुग्दा सत्ता राजनीतिमै समेत हलचल पैदा हुँदा काँग्रेस माओवादी समिकरण तोडिएर एमाले माओवादीको मोर्चाबन्दी हुन जाँदा आजसम्मको राजनैतिक परिस्थति उत्पन्न हुन पुगेको यथार्थलाई नकार्न सकिदैन ।
जे होस् २०७४ साल नेपाल र नेपालीका लागि केही राम्रा र केही दुःखद् क्षणहरु छोडेर तपाईं हामीबिच छोडेर बिदा भएको छ । समय निरन्तर आफ्नै बेगमा चल्छ यो वैज्ञानिक साध्यलाई तोडमरोड गर्न सकिदैन तर विगतका नराम्रा र दुःखद् पक्षलाई समीक्षा र सिकाईको रुपमा ग्रहण गर्दै नयाँ र स्वर्णिम बिहानीको स्वागत गर्दै गतिशिल वर्तमान र सुन्दर भविष्यको परिकल्पना गर्दै विगतका सबै तितो पिरो सद्भाव, समझदारी र हातेमालोको माध्यमबाट हामी सबैको पहल प्रयत्न र प्रयासबाट सुन्दर र समुन्नत मुलुक जनतालाई स्वाधिन र सुखी बनाउनका लागि आ आफ्नो स्थानबाट होस्टेमा हैसे गर्दै एकता प्रतिबद्धता, दृढ संकल्प सहित मन वचन र कर्मले लागि परौं ।
शान्ति, समुन्नति, समृद्धिका लागि जनताको जीवन स्तरमा परिवर्तनका लागि हामी नेपाली एक ढिक्का भएर अगाडि बढेमा मात्र सम्भव छ । व्यक्तिगत, गुटगत, दलगत र धर्म, समुदाय र सम्प्रदाय बिशेषको स्वार्थका लागि अरुलाई चलखेल गर्ने मैदानको रुपमा प्रयोग हुनबाट मुलुकलाई जोगाउ, अर्काको पिछलग्गु र मानव ढाल हुनबाट मुलुकका नेता र नेतृत्व सजग रहौ सबैले खबरदारी गरौं यसमै नेपाल र नेपाली हित निहित छ सबैले मन खोलेर भनौं जय जय नेपाल ।