कांग्रेसका गतिविधि जनतासमक्ष पुर्याउन थापाको आग्रह

काठमाडौं, असार २  । सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रदेश नं २ को निर्वाचन मिति पछि ढकेलेको बताए ।

नेपाल प्रेस युनियन, झापाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै थापाले रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनहितका लागि निर्वाचनको मिति सारिएको जनाए । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहेका नेता थापाले आसन्न स्थानीय तहकोे निर्वाचनमा काँग्रेसका हरेक गतिविधिहरुलाई जनता समक्ष पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरे ।

जनतालाई निर्वाचनमा धेरै भन्दा धेरै उपस्थिति गराउन र निर्वाचनप्रति जनताको उत्साह जगाउन काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरबाट आमजनता लाभान्वित भएको थापाले बताए । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मिडिया सेन्टरका प्रमुख सुरेशकुमार आचार्यले पनि स्थानीय निकाय, निर्वाचन र काँग्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।