काठमाडौँ, वैशाख ४ । सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।
सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ, बर्बादीलाई नियन्त्रण र बरदानलाई सुरक्षित गर्नु प्रस्तावित नयाँ ऐनको ध्येय हो उनले भने । सूचना प्रविधि विभागद्वारा तयार पारिएको प्रस्तावित नयाँ सूचना प्रविधि ऐनको मस्यौदाबारे आज मन्त्रालयमा आयोजित राय तथा सुझाव कार्यक्रममा बोल्दै राज्यमन्त्री बास्कोटाले सूचना प्रविधि व्यवसायलाई प्रस्तावित ऐनले थप बलियो र मर्यादित बनाउन सहयोग पुर्याउने बताए ।
सूचना प्रविधि दैनिक जीवनमा नभई नहुने दाल, भात, तरकारी जस्तै भएका र यसमा सबैको पहुँच बढाउन सरकारले उच्च प्राथमिकता दिएको, यसैले ऐन ल्याउन लागेको उनले जानकारी दिए ।
सरकारका प्रवक्तासमेत रहेका राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिको नाममा राष्ट्रिय सुरक्षा र व्यक्तिगत अधिकारमाथि आँच आउने गरी व्यवसाय गर्न कसैलाई छुट नभएको स्पष्ट पार्दै ती दुई विषयलाई मानवाधिकारसित तुलना गर्न नसकिने बताए ।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना प्रविधिको विकासका साथै आर्थिक समृद्धि हासिल गर्न ऐन ल्याउन लागिएको जानकारी दिँदै यसले सूचना प्रविधिलाई जनताका हातहातमा पुर्याउन सहयोगसमेत गर्ने विश्वास व्यक्त गरे ।