पत्रकार महासंघको आन्दोलन हिमालयन टिभीबाट प्रारम्भ

नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्धन समितिको नेतृत्वमा हिमालय टेलिभिजनमा विरोध कार्यक्रम आजबाट प्रारम्भ भएको छ । श्रमजीवी पत्रकारको अधिकारका लागि थालिएको विरोध कार्यक्रममा आज महासंघ श्रमजीवी हित प्रवर्धन समितिले उक्त प्रतिष्ठानमा कालो ब्यानर टाँसेको हो ।

कालो व्यानर टास्ने कार्यक्रमको नेतृत्व गर्दै महासघंका महासचिव रमेश विष्टले व्यवस्थपनले समयमै माग सुनुवाइ नगरे महासंघ कडा आन्दोलनमा उत्रन बाध्य हुने धारणा राखेका थिए ।

समितिका संयोजक रामप्रसाद दाहालले तालाबन्दीमै पुग्ने स्थिति नआओस् भन्दै हिमालय टेलिभिजन व्यवस्थापन समितिको ध्यान आकर्षण गराएका छन् । महासंघले यसअघि पटकपटक पत्राचार गर्दै श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न, राजपत्रमा प्रकाशित भए अनुरुप पारिश्रमिक उपलब्ध गराउन, सबै कर्मचारी पत्रकारहरुलाई नियम अनुसार स्थायी अस्थायी नियुक्तिपत्र उपलब्ध गराउन र पत्रकार सन्ध्या केसीलाई स–सम्मान पूर्नबहाली गर्न दबाब दिँदै आएको थियो ।

७ गते १ घण्टा धर्ना र ९ गते कोणसभा गरेपछि पहिलो चरणको कार्यक्रम सकिने र लगत्तै बैठक बसी सशक्त कार्यक्रमसहितको दोश्रो चरणको कार्यक्रम तय गरिने जानकारी सह संयोजक जैसीले गराए ।